Back to articles

Nepali Patient Guide

“यति सानो कुरामा ?”– सायद हामीले गलत प्रश्न सोधिरहेका छौँ

आत्मघाती व्यवहारलाई ‘सानो कुरा’ वा व्यक्तिगत कमजोरीका रूपमा होइन, व्यक्ति र समाजले बोक्ने जटिल पीडाको सन्दर्भमा बुझ्न आग्रह गर्ने लेख।

This guide supports general mental-health education and does not replace a personal diagnosis or treatment plan. व्यक्तिगत निदान वा औषधि निर्णयका लागि मनोचिकित्सकसँग प्रत्यक्ष परामर्श गर्नुहोस्।

Medically reviewed by Dr. Kushal Kharel, MD Psychiatry

Consultant Psychiatrist · Nepal Medical Council registered · Last reviewed July 14, 2026

Read the medical information disclaimer

के यो साँच्चिकै एउटा सानो कुरा मात्र थियो?

त्रिपुरेश्वरस्थित राहदानी विभागको तेस्रो गेट अगाडि एक नेपाली नागरिकले आफ्नै जीवन अन्त्य गर्ने प्रयास गरे। उपचारका लागि अस्पताल पुर्‍याइए पनि भोलिपल्ट उनले जीवनसँगको अन्तिम लडाइँ हारेर यो संसारबाट बिदा लिए।

तुरुन्तै यो खबर फैलियो। सामाजिक सञ्जाल तातिए। केहीले सहानुभूति व्यक्त गरे, तर धेरैले उल्टै प्रश्न गरे।

“जाबो हजार–दस हजार रुपैयाँको जरिवानाका लागि पनि मान्छेले यस्तो गर्छ ?”

“नियम भनेको नियम हो, जरिवाना तिरेको भए भइहाल्थ्यो नि!”

“यति सानो कुरामा पनि कसैले यस्तो गर्छ त ?”

“कतै यो व्यक्ति मानसिक रोगी त थिएनन् ?”

तर के हामीले सोधिरहेका प्रश्नहरू नै गलत छैनन् र?

सायद सही प्रश्न यस्तो हुन सक्थ्यो: के यो साँच्चिकै एउटा सानो कुरा मात्र थियो?

अन्तिम परालको भार

एउटा पुरानो उखान छ—“त्यो अन्तिम पराल, जसले ऊँटको ढाड भाँच्यो।” कल्पना गर्नुस्, एउटा ऊँट मरुभूमिमा भारी बोकेर हिँडिरहेको छ। एकपछि अर्को गर्दै त्यसको पिठ्युँमा पराल थपिँदै जान्छ। उसले पहिलो, दोस्रो, तेस्रो र चौथो भार सहँदै जान्छ। तर अन्त्यमा थपिएको एउटा सानो परालले उसको ढाड भाँचिदिन्छ।

ऊँटको ढाड वास्तवमा त्यो अन्तिम परालले मात्र भाँचिएको हुँदैन। त्यो त वर्षौँदेखि थुप्रिँदै गएको भारको परिणाम हुन्छ।

मानिसको मन पनि कहिलेकाहीँ त्यस्तै हुन्छ। सायद स्वर्गीय गणेश नेपालीमा पनि त्यही भएको थियो होला, तर किन हाम्रो समाजले बुझ्ने कोसिस गरेन?

के “चार जात छत्तीस वर्णको साझा फूलबारी” भन्ने हाम्रो पहिचान आज पनि जीवित छ त?

आर्थिक भार, ऋण, जिम्मेवारी, बेरोजगारी, भविष्यप्रतिको निराशा, प्रशासनिक जटिलता, सामाजिक विभेद, तिरस्कार, अपमानको अनुभूति तथा अवसरबाट वञ्चित हुने अनुभव—यी सबै अदृश्य भारहरू हुन सक्छन्। समाजले सानो ठान्ने कुनै एउटा घटना कहिलेकाहीँ त्यही अन्तिम पराल बन्न पुग्छ।

नियमसँगै करुणा

यसको अर्थ नियम आवश्यक छैनन् भन्ने होइन।

नियम आवश्यक छन्। जरिवाना पनि आवश्यक हुन सक्छ। राज्य नियमबिना चल्न सक्दैन।

तर एउटा समाजको सभ्यता केवल नियम कार्यान्वयनको कठोरताले मात्र मापन हुँदैन। त्यसको मापन पीडितप्रतिको सहानुभूति, करुणा र मानवीय संवेदनशीलताले पनि हुन्छ।

कुनै व्यक्ति जीवन र मृत्युको सङ्घर्षमा छ भने हाम्रो पहिलो प्रश्न उपचार र उद्धारबारे हुनुपर्छ, कारणबारे होइन। भुइँमा ढलेको मानिसलाई हेरेर “उनले नियम किन तोडे?” भन्ने प्रश्नभन्दा पहिले “उनी यति निराश र पीडित किन भए कि यस्तो निर्णयको किनारासम्म पुगे?” भन्ने प्रश्न उठ्नुपर्छ।

आत्मघाती व्यवहारलाई बुझ्ने दृष्टि

आधुनिक आत्महत्या सम्बन्धी सिद्धान्तहरूले पनि यही कुरा सम्झाउँछन्।

विश्वप्रसिद्ध अमेरिकी मनोवैज्ञानिक थोमस जोइनरको Interpersonal Theory of Suicide अनुसार आत्मघाती व्यवहारको जोखिम तब बढ्न सक्छ जब व्यक्तिले आफू अरूका लागि बोझ भएको अनुभव गर्छ (perceived burdensomeness) र आफू समाज तथा सम्बन्धहरूबाट अलग भएको महसुस गर्छ (thwarted belongingness)।

त्यसैगरी समाजशास्त्री एमिल डुर्खाइमले एक शताब्दीभन्दा अघि नै आत्महत्या केवल व्यक्तिगत वा मानसिक घटना मात्र नभई सामाजिक संरचना, सामाजिक सम्बन्ध तथा व्यक्तिको सामाजिक स्थानसँग पनि गहिरो रूपमा सम्बन्धित हुने बताएका थिए।

यी सिद्धान्तहरूले हामीलाई एउटा महत्त्वपूर्ण कुरा सिकाउँछन्: आत्मघाती व्यवहार प्रायः एउटै कारणबाट उत्पन्न हुँदैन। यो धेरै जैविक, मनोवैज्ञानिक र सामाजिक कारणहरूको जटिल अन्तरक्रियाबाट उत्पन्न हुने घटना हो।

त्यसैले आत्महत्या गर्ने व्यक्तिलाई “कमजोर मानसिकता भएको”, “हिम्मत नभएको” वा “सानो कुरामा ठूलो प्रतिक्रिया दिएको” भनेर व्याख्या गर्नु वैज्ञानिक दृष्टिले पनि गलत हुन्छ र मानवीय दृष्टिले पनि अपूर्ण हुन्छ।

यति मात्र होइन, आत्मघाती व्यवहार भएका सबै व्यक्तिहरूमा अनिवार्य रूपमा मानसिक रोग नै हुन्छ भन्ने पनि होइन। मानसिक रोग जोखिम कारक हुन सक्छ, तर प्रत्येक घटना मानसिक रोगकै प्रत्यक्ष परिणाम हुन्छ भन्ने निष्कर्ष वैज्ञानिक रूपमा उचित हुँदैन।

पीडालाई बुझ्ने प्रयास

मृतक गणेश नेपालीको सन्दर्भमा पनि हामीले कुनै मानसिक रोगको अनुमान गर्नु वा निष्कर्ष निकाल्नु भन्दा पहिले उनले जीवनमा भोगेका अस्थिरता, आर्थिक कठिनाइ, मनोसामाजिक तनाव, अपमानको अनुभूति, सामाजिक एक्लोपन वा निराशाजस्ता सम्भावित कारणहरूलाई बुझ्ने प्रयास गर्नुपर्छ।

त्यसैले कसैले यति पीडादायी रूपमा आफ्नो जीवन गुमाएको अवस्थामा उसको पीडालाई नबुझी त्यसलाई केवल मानसिक रोग वा व्यक्तिगत कमजोरीको रूपमा व्याख्या गर्नु उचित हुँदैन। आवश्यक कुरा भनेको उसको भोगाइ, संघर्ष र पीडालाई बुझ्ने प्रयास गर्नु हो।

के हामी नियम मान्ने समाजमा रूपान्तरण हुँदै जाँदा मानवता बिर्सिरहेको समाज त बनिरहेका छैनौँ?

हो, कानुनले व्यवस्था दिन्छ।

तर करुणाले समाजलाई सभ्य बनाउँछ।

यदि एउटा मानिसको मृत्युको समाचार सुन्नासाथ हाम्रो पहिलो प्रतिक्रिया “उसले गल्ती गर्‍यो” भन्ने मात्र हुन्छ भने, सम्भवतः हामीले नियमको रक्षा गरेका छौँ, तर केही मानवता भने गुमाइरहेका छौँ।

अन्ततः प्रश्न नियम सही थिए कि थिएनन् भन्ने मात्र होइन।

प्रश्न यो हो: एउटा मानिसलाई कुन पीडा, कुन निराशा र कुन अदृश्य भारले यस्तो अवस्थामा पुर्‍यायो कि जीवनभन्दा पीडा ठूलो जस्तो महसुस भयो?

डा. कुशल खरेल काठमाडौंमा कार्यरत एक मनोचिकित्सक हुन्। विशेष रुचि आत्महत्या रोकथाम, सामुदायिक मानसिक स्वास्थ्य तथा जनचेतनामूलक मानसिक स्वास्थ्य अभियानमा रहेको छ।

Related Suicide Prevention articles

Need professional help?

If symptoms are affecting sleep, study, work, relationships, safety or daily functioning, a psychiatric assessment can help clarify the diagnosis and treatment plan.

Call NowWhatsApp